सुपर ओभरमा पोखरा विजयी
काठमाडाैं | मंसिर २७, २०८१
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ ।
पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए ।
पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौ बलमा सन्दीपले १ रन खर्चिए । अन्तिम बलमा सन्दीपले फेरी १ रन खर्चिए ।
यसका साथै विराटनगरले १९ रनको लक्ष्य पायो । विराटनगरले मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिएका थिए । पोखराले बलिङमा रेमन राइफर आएका थिए । पहिलो बलमा मार्टिन गप्टिलले १ रन लिए । दोस्रो बलमा किर्तनले पनि १ रन मात्र लिए ।
तेस्रो बलमा फेरी १ रन लिए । चौथो बलमा किर्तनले डट बल खेले । पाँचौ बलमा किर्तनले १ रन लिए । पाँचौ बल रेमनले वाइड दिए । अन्तिम बल डट राख्दै पोखरा सुपर ओभरमा विजयी भयो ।
त्यसअघि व १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर हो ।
अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । ११औं ओभरको तेस्रो बलमा ओपनर गौस प्रतिश जिसीको बलमा बलमा आउट भए । गौस २७ बलमा ७ चौकाको ३९ रन बनाए । गौस बासिर अहमदबाट समातिएका थिए । कप्तान कुशल भुर्तेलले ३४ बलमा ३१ रन जोडे ।
चौथो विकेटका रुपमा कप्तान कुशल ३१ रन बनाएर क्रिस सोलको बलमा आउट भए । पहिलो विकेटका रुपमा ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाउँदै प्रतिस जिशीको बलमा आउट भए । दिनेश अनिल खरेलद्वारा समातिएका थिए ।
तेस्रो विकेटका रुपमा पोखराले जेन मल्लिकलाई ४ बलमा प्रतिस जिशीले बोल्ड आउट गरे । विराटनगरका लागि प्रतिसले ३ तथा क्रिस सोलले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने विकेट विहिन रहे ।
४ ओभरमा २१ रन खर्चिएका सन्दीप प्रतियोगिताको चौथो खेलमा समेत विकेट बिहिन रहे । सन्दीपले लुम्बिनी लायन्सविरुद्ध मात्र विकेट लिन सफल भएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।
विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । एडवार्डस कुशल भुर्तेलको एलबिडब्लु सिकार भए ।
बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए । ओपनर लोकेसले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।
ओपनर लोकेस राइमन राइफरद्वारा कट एण्ड बोल्ड भए । पहिलो खेलमा अर्धशतक बनाए पनि त्यस पछि खराब लयमा निरन्तर रहेका मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए । गप्टिल सागर ढकालको बलमा बोल्ड आउट भएका थिए ।
प्रतियोगितामा पहिलो पटक बलिङ गरेका दिनेश खरेलले पहिलो बलमा नै नरेन भट्टलाई आउट गराए । ४ रन बनाउँदै नरेन सागर ढकालबाट क्याच आउट भए । चौथो विकेटका रुपमा विराटनगरले निकोलस किर्तनलाई आउट गराए । १६ बलमा १ छक्काको सहयोगमा १९ रन बनाउँदै किर्तन सागरको बलमा माइकल लिक्सबाट समातिए ।
क्रिस सोलले ५ बलमा १ छक्काको सहयोगमा ७ रन बनाउँदै आउट भए । पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान २ तथा कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

